FAQs Complain Problems

नेपालगञ्जमा घुम्ती शौचालय सञ्चालनमा !!

नेपालगञ्ज, माघ ९ गते– नेपालगञ्ज उप–महानगरपालिकाले बुधबार (आज) देखि घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रको अती व्यस्त ४ वटा स्थानमा रहने गरि उपमहानगरपालिकाले चारवटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो । ५९ लाख लागतको सार्वजनिक शौचालय हाल गणेशपुर बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चौंक नजीक राखिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरिक्षक अरुण पौडेल, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले रिवन काटेर संयुक्त उद्घाटन गर्नु भएपछि शौचालय गन्तव्य तर्फ परिचालन गरिएको थियो ।

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल लगायतका वडा अध्यक्ष, नागरिक समाजका अगुवा, पत्रकारको उपस्थिती रहेको समारोहमा नगर प्रमुख राणाले निरन्तरको प्रयासपछि सञ्चालनमा ल्याइएको घुम्ती शौचालयको सहज सञ्चालन, उपभोग र व्यवस्थापनमा सबैको साथको आवश्यक्ता औल्याउनु भयो । व्यस्त शहर नेपालगञ्जमा पर्याप्त सार्वजनिक शौचालय अभावमा भोग्नु परेको सास्तीलाई सम्वोधन गर्दै उपमहानगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिनु भयो । सहजै एक ठाउँबाट अर्को ठाउँ लैजान सकिने अत्याधुनिक शौचालयमा एकै पटक ८ जनाले प्रयोग गर्न मिल्ने छ । घुम्ती शौचालय सञ्चालनपछि सार्वजनिक शैचालयको अभावलाई कम गर्नुका साथै नगरको सरसफाईमा समेत मद्यत पुग्ने विश्वास गरिएको छ । घुम्ति शौचालय सञ्चालन(तीन महिना)का लागि भ्याटसहित ७० हजारमा सरसफाईकर्मी भानु भट्टलाई जिम्मेवारी दिइएको छ । सञ्चालन खर्चको लागि उपभोक्तासँगै पीशाव गरे वापत ५ र दिसा गरेवापत १० रुपैया शुल्क लिइने भट्टले जानकारी दिनुभयो ।

Show in Slider: