FAQs Complain Problems

नगरको सडक, नाला निर्माण प्रक्रिया शुरु !!

नेपालगञ्ज फागुन ८ गते– नेपालगन्ज नगर क्षेत्रको सडक तथा ढल÷नाला निर्माण प्रक्रिया शुरु भएको छ । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाई मार्फत नेपालगञ्ज उपमहानगरपालिकाका अधिकांस सडक तथा नाला निर्माण हुने भएको हो । परियोजना कार्यान्वयन इकाईले आशय पत्र सूचना सार्वजनिक गरेपछि निर्माण प्रक्रियाले औपचारिकता पाएको हो । कालिका जेटीएसजीसँगको सम्झौताअनुसार नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण हुन लागेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

एक अर्व ४४ करोड ७१ लाख ६६ हजार ४ सय ६५ रुपैयाको लागतमा ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता रहेको परियोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिनु भयो । परियोजनाका इन्जिनियर महजर्नका अनुसार– आशयपत्रको अवधी समाप्तीसँगै नोटीस अवार्ड (सम्झौता आहवान) अनुसारको अन्तिम सम्झौतापछि सडक नालाको संयुक्त सर्वे गरिने छ । नक्सा स्वीकृत, कार्यादेशसँगै निर्माण कार्यलाई पनि गती दिइने छ । सर्व प्रथम नगरको चारवाहीनी –त्रिवेणीमोड (सदरलाइन), बलबुलिया रोड विस्तार शुरु हुने भएको छ । घरधनीहरुले स्वस्फुर्त घर भत्काइसकेपछि अबको केही दिन भित्रै सदरलाइनमा काम शुरु हुने परियोजनाले जनाएको छ । सडक खाली गर्न (घर भत्काउन) भएको अन्यौलता सम्वाद समूह बाँकेको सजीकरणपछि हटेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले प्राविधक प्रक्रिया लगत्तै समग्र विकासले गती लिने विश्वास व्यक्त गर्दै सबैको सहयोगका लागि आहवान गर्नु भयो ।