FAQs Complain Problems

जेष्ठ महिलालाई सम्मानसँगै स्वास्थ्योपचार !

जेष्ठ महिलालाई सम्मानसँगै स्वास्थ्योपचार

नेपालगञ्ज फागुन २४ गते– १०८ औं अन्तर्राष्टिय नारी दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकामा विविध कार्यक्रम गरिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले नगरका ८० वर्षमाथिका जेष्ठ महिलालाई दोसल्लासहित सम्मान गर्नुका साथै स्वास्थ्योपचार गरेको छ । उपमहानगरपालिकामा आयोजित भव्य समारोहबीच आज एक सय ५० जेष्ठ महिलालाई दोसल्ला, छाता, फलफुलसहित सम्मान गरेको हो । सोही अवसरमा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको सहजीकरणमा एक सय जनाको स्वास्थ्य जाँचका साथै औषधी समेत प्रदान गरिएको छ ।

कवीराज निरिक्षक अनीरुद्ध्र साह नेतृत्वको ९ जनाको टोलीले दिनभर जेष्ठ महिलाको स्वास्थ्य जाँच, परामर्श तथा उपचार दिएको थियो । ब्लड पे्रसर, सुगर चेकका का साथै वाथ, मुटु रोगको समेत जाँच गर्दै आयुवेर्दिक औषधी दिइएको थियो । कविराज निरिक्षक साहका अनुसार विशेषतः जेष्ठ नागरिकका लागि आमलक्की चूर्ण, अश्वगन्धा चूर्ण, नारायण तेल प्रयोग गर्न लगाइएको छ । सम्मान समारोहमा बोल्दै नगर प्रमुख डा धवल शम्शेर राणाले जेष्ठ नागरिकलाई सम्मानसँगै उहाँहरुको अनुभवलाई अनुशरण गर्नु पर्ने बताउनु भयो ।

उपप्रमुख उमा थापा मगरले परिवार, समाज र राष्ट्रका लागि गरिएको योगदानको सम्मानका रुपमा ग्रहण गर्न आह्वान गर्दै सम्मानको संस्कृति निर्माणमा जोड दिनु भयो । नगरका वडा अध्यक्ष, सदस्य, जेष्ठ नागरिक लगायतको सहभागिता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति अधिकारी हरिकृष्ण ज्ञवाली, वडा अध्यक्षहरुका तर्फबाट वडा न १२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीे लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सूचना अधिकारी शरद पौडेलले गर्नु भएको थियो । यस अघि महिला तथा बालबालिका कार्यालयको संयोजनमा वृहत प्रभातफेरी तथा कोण सभा गरिएको छ । गणेशमान चौकदेखि जैसपुर चौक सम्म वाजा गाजा र सचेतनामुलक नारासहित प्रभातफेरी गरि कोण सभा गरिएको थियो । जिल्ला न्यायधिश सारदा सुवेदी, जिल्ला समन्वय समितिका अध्यक्ष अजय श्रीवस्तव, नगर उपप्रमुख उमा थापामगर, महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह लगायतले शुभकामना दिनु भएको थियो ।