FAQs Complain Problems

नेपालगञ्जमा वृक्षारोपण, बातावरणमैत्री नगर बनाइदै !!

नेपालगञ्ज, भदौ २ गते– नेपालगञ्ज उपमहानगरपालिकालाई बातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित नेपालगञ्जमा विरुवा रोपेर हरियाली, स्वच्छ बातावरण बनाइदैछ । विकास निर्माणसँगै बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गर्न वृक्षारोपण लगायतका कार्यक्रम र अभियान शुरु गरिएका छन् । बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण आदि कारणले तापक्रम वृद्धिका साथै मानव स्वास्थ्यमा समेत अनेकन समस्या सिर्जना हुने स्थिती आउने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरपालिका स्वयं र सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा विरुवा रोप्ने, संरक्षण÷सम्वद्र्धन गर्ने र सरसफाई लगायतका चेतनामुलक कार्यक्रमहरु गर्ने गरिएका हुन् ।
गत मंसीर ८ गतेको प्रथम नगर सभाले नै नेपालगञ्जलाई वातावरण मैत्री नगर बनाउन एक घर एक चर्पी, एक व्यक्ति एक विरुवा र एक वडा एक बाल उद्यान बनाउने उदघोष गरिसकेको छ । प्रथम चरणमा नेपालगञ्ज जमुनाहादेखि राँझा सम्म वृक्षारोपण गरेर हरियाली अभियान शुरु गरिदैछ । सुर्खेतरोडको अधिकांस स्थानमा सामाजिक संघ संस्थाको सहयोग र सहकार्यमा उपमहानगरपालिकाले वृक्षारोपण गरिसकेको छ । क्लीन नेपालगञ्ज, ग्रिन नेपालगञ्ज, नेपालगञ्ज उद्योग वाणिज्य संघ, बीगु्रपलगायतका दर्जनौं संस्थाले वृक्षारोपण अभियानमा सघाउँदै आएका छन् । अघिल्लो वर्ष रोपीएका विरुवाहरु अहिले हुर्की पनि सकेका छन् । जिल्ला बन कार्यालय र उपमहानगरपालिकाको साझेदारीमा सुर्खेतरोडमा २१ लाख बराबरको ट्रीगार्डसहितको विरुवा रोप्ने तयारी भइरहेको छ । रोड विचको बेल्टमा ३ सय ५० वटा विभिन्न विरुवा रोपीन लागिएको बन कार्यालयका निमित्त प्रमुख गणेश खडकाले जानकारी दिनु भयो । वृक्षारोपण अभियानमा कालिका कन्सट्रक्सनसँगको साझेदारीमा क्षेत्रीय शहरी विकास आयोजनाले पनि दुई हजार वटा ट्री गार्ड सहयोग गर्दैछ । नगरका टोलटोलका सडक किनारमा विरुवा रोप्न शुरु गरिने जनाउँदै नगर प्रमुख डा धवलशम्शेर राणाले ४ वर्ष भित्र नगरलाई हरियाली शहर बनाउने दाबी गर्नु भयो ।
हरियाली अभियानअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले एक घर, एक विरुवा रोप्नै पर्ने अनिवार्य व्यवस्था पनि गरेको छ । तर अधिकांसले घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई पूर्ण रुपमा अवलम्वन गरेको पाइएको छैन । सुक्ष्म अध्ययन गरिने र पालना नगरेको पाइए उपमहानगरपालिकाको सेवा सुविधाबाट समेत वञ्चित गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले ५ वर्षे वातावरणमैत्री रणनीतिक योजना बनाइरहेको जनाउँदै बातावरण तथा सरसफाई इन्जिनियर प्रकाश डीसी पूर्ण सरसफाई र बातावरणमैत्री नगर बनाइने योजना सुनाउनु हुन्छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले नगरको विकास स्तरोन्नतीसँगै सौन्दर्यतालाई पनि जोड दिएर कार्यक्रम÷ अभियानहरु सञ्चालन गरिने बताउनु भयो ।

Show in Slider: