नेपालगञ्जमा साइक्लोथन प्रतियोगिता !

नेपालगञ्ज, असार ९गते– नेपालगञ्जमा साईकल दौड प्रतियोगिता “नेपालगञ्ज साइक्लोथन” गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई टेवा पु¥याउने उद्देश्यले नेपालगञ्जमा आज “नेपालगञ्ज साइक्लोथन” प्रतियोगिता गरिएको हो । स्वास्थ्य, पर्यावरण र आन्तरिक पर्यटनको नारालाई आत्मसाथ गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा नेपालगञ्ज साइक्लिङ क्लबले प्रतियोगिता गरेको हो । प्रोफेसनल, साधारण साइकल (महिला र पुरुष) र ट्राइसाईकल दौड गरी तीन बिधामा गराइएको थियो । वन कार्यालयदेखि कोहलपुर चौराहसम्म ३७ किलोमिटर पुरुष प्रोफेसनल साइकल दौड (माउन्टेन बाइक) मा विमलेसकुमार यादव प्रथम हुनु भयो । उहाँले एक घण्टा २२ मिनेट ४६ सेकेण्डमा दूरी पार गनुभयो । प्रतियोगितामा सञ्जय सोनकर द्वीतिय र दीपक मल्ल तृतीय हुनु भयो । विजेतालाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सोही दूरीको महिला प्रोफेसनल साइकल दौड प्रतियोगितामा भने एक मात्र प्रतिष्पर्धी सायाँ थापा हुनु भयो । उहाँले १५ हजार रुपैयाँ पुरस्कार जित्नु भयो । । २० किलोमिटर पुरुष साधारण साइकल दौडमा मनोेजकुमार धोबी प्रथम, जग्गु थारु द्वीतिय र सतिश थारु तृतीय हुनु भयो । । त्यसैगरी सोही दुरीको महिला साधारण साइकल दौडमा पार्वती सार्की, टीका खड्का र ममता गुप्ता क्रमशः प्रथम, द्वीतिय र तृतीय हुनु भएको थियो । वन कार्यालय–पुष्पलाल चोक ६ किलो मिटर दूरीको अपाङ्गता भएका ब्यक्तिहरुको साइकल दौड (ट्राइसाइकल) मा यज्ञबहादुर खत्री प्रथम, तेजबहादुर राना द्वीतिय र चन्द्रबहादुर कामी तृतीय हुनु भयो । साधारण साइकल दौड र ट्राइसाइकल दौड प्रतियोगिताका विजेताले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, क्लवका अध्यक्ष केशर आले लगायतले विजेतालाई पुरस्कार, ट्रफि र प्रमाणपत्र वितरण गर्नु भयो । । साइकल दौडमा एक सय ७५ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा मोटिभेसन साइक्लिष्टका रुपमा अष्ट्रेलियाका फिल डेभिट तथा धनगढीका साइकल अभियन्ता भरत विक्रम शाहले प्रतियोगीहरुको हौसला बढाउनु भयो ।

Show in Slider: