FAQs Complain Problems

समाचार

वडा कप रात्रकालिन कबड्डीको उपाधी खजुरालाई !

नेपालगञ्ज,जेठ १ गते– नेपालगन्जमा जारी खुल्ला वडा स्तरीय वडा कप रात्रकालिन कबड्डी प्रतियोगिताको उपाधी खजुरा गाउपालिका वडा न ८ ले जितेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ३ को कार्यालयद्धारा २६ गतेदेखि सञ्चालित खुल्ला वडा स्तरिय कवड्डी प्रतियोगिताको फाईनलमा वडा न ४ को महेन्द्र स्पोर्टस क्लवलाई हराउँदै खजुराले उपाधीमा कव्जा जमाएको हो । सोमबार अवेर राती सम्पन्न खेलमा खजुराले २७ का विरुद्ध ७९ अंकले महेन्द्रलाई पराजित गरेको हो । बेस्ट प्लेयर घोषित खुजरा टिमका कन्हैयालाल चौधरीलाई ५ हजार र राईजिङ प्लेयर मुन सीद्यीकीलाई ५ हजार नगद प्रदान गरिएको थियो । नकआउट सिस्टमका आधारमा खेलाइएको प्रतियोगितामा १७ टिमले सहभागिता जनाएको आयोजकले बताएको छ । समापन समारोहमा नगर प्रमुख डा धवल शम्शेर राणाले कवड्डी खेलले नेपालगञ्जको पहिचानलाई जोडेको भन्दै यसको निरन्तरताका लागि आहवान गर्नु भयो ।

मेडल प्रदान गर्दै नगर उपप्रमुख उमा थापा मगरले खेलले अनुशासन, शारिरिक स्वस्थतासँगै आत्मवल बढाउने भन्दै सबैको हातेमालोको आवश्यक्तामा जोड दिनु भयो । युवा आर्कषण बढाउन, राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्र्ने बातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष मो अयूव सिद्यीकीले जानकारी दिनु भयो । मेडलसँगै प्रतियोगितामा प्रथम हुने खुजुरा टिमलाई ५१ हजार, दोस्रो हुने महेन्द्र स्पोर्टस क्लवलाई २६ हजार प्रदान गरिएको थियो । साढे तिन लाख बराबरको लागतमा सम्पन्न प्रतियोगिताको विजेता खेलाडीलाई उद्योगी व्यवसायी अगुवा नन्दलाल वैश्यले उपहार स्वरुप एक एक जोर सर्ट÷पाइन्ट प्रदान गर्नु भएको थियो । सहयोगी दर्जनौं व्यक्तित्वलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो । शान्ति सुरक्षालाई मध्यनजर गर्दै व्यवस्थापन गरिएको प्रतियोगिताको मुख्य अम्पायर राजेन्द्र शाही रहनु भएको थियो ।

Show in Slider: