FAQs Complain Problems

समाचार

अघि बढ्यो वाटरपार्क परियोजना, अस्थायी पुर्जा वितरण !!

नेपालगञ्ज पुस २७ गते । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका जग्गाधनीले आइतबार अस्थायी लालपुर्जा प्राप्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख तथा नगर विकास समितिका अध्यक्ष डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशसकीय अधिकृत हरी प्याकुरेलले आईतबार अस्थायी पुर्जा वितरणको सुभारम्भ गर्नुभयो ।

 पहिलो चरणमा  १८७ जनालाई आइतबार अस्थायी पुर्जा वितरण गरिएको छ । ७४५ जना जग्गा धनी मध्ये सबैलाई तत्काल अस्थायी पुर्जा दिएर स्थायी पुर्जाका लागि प्रक्रिया सुरु गरिने भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. राणाले वाटरपार्क परियोजनाको कामले गति लिएको बताउनुभयो । आगामी दिनमा पनि जग्गाधनीबाट थप सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

उपप्रमुख उमा थापा मगरले परियोजनालाई अन्तिम रुप दिने चरणमा पुगिएको बताउँदै सबैको साथ र सहयोग चाहिएको बताउनुभयो ।

 एकदशकपछि जग्गाको अस्थायी पुर्जा हात पारेका स्थानीय बासिन्दामा ढिलै भएपनि खुशी भएका छन् । उपभोक्ता सहयोग समितिका अध्यक्ष विन्दु सापकोटाले नगर विकास समितिमा जन निर्वाचित प्रतिनिधी आएपछि कामले गति लिएर अस्थायी पुर्जा वितरण सम्म पुगेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलका अनुसार वाटरपार्क परियोजना अन्तर्गत ६५ विघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मुल्यांकन समेत भईसकेको छ ।

Show in Slider: