समाचार
नेपालगंज उप–महानगरपालिकाको संक्षिप्त परिचय
लुम्बिनी प्रदेशको पश्चिम भागमा अवस्थित तथा साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको केन्द्रबिन्दुका रूपमा विकसित नेपालगञ्ज उपमहानगरपालिका बाँके जिल्लाको सदरमुकाम हो। पश्चिम नेपालको प्रमुख प्रवेशद्वारका रूपमा परिचित यो सहर व्यापार, सेवा, प्रशासन तथा सांस्कृतिक अन्तरक्रियाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित छ। नेपालकै नामबाट स्थापित सहरका रूपमा नेपालगञ्जको ऐतिहासिक र पहिचानगत महत्व पनि विशिष्ट रहेको छ। विक्रम संवत् २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतको रूपमा स्थापना भई २०१९ सालमा नगरपालिका बनेको यस क्षेत्रलाई नेपाल सरकारको मिति २०७१ मंसीर १६ गतेको निर्णयानुसार साविकका १० वटा गाउँ विकास समितिहरू समेटी २७ वडा कायम गरी उपमहानगरपालिकामा स्तरोन्नति गरिएको हो। त्यसपछि मिति २०७२।०६।०१ मा पुरैनी गाउँ विकास समिति समेटेर २८ वडा कायम गरिएकोमा मिति २०७३।११।२७ को निर्णयानुसार हाल २३ वडा कायम रहेका छन्।
कुल ८५.९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो उपमहानगरपालिका पूर्व–पश्चिम राजमार्गबाट करिब १० किलोमिटर दक्षिणमा अवस्थित भई नेपाल–भारत सीमासँग प्रत्यक्ष जोडिएको छ।यस किसिमको भौगोलिक अवस्थिति कारण नेपालगञ्ज व्यापारिक तथा आवागमनका दृष्टिले रणनीतिक महत्व बोकेको सहर बनेको छ। यसको सीमाना पूर्वमा डुडुवा गाउँपालिका, पश्चिममा जानकी गाउँपालिका, उत्तरमा जानकी गाउँपालिका तथा कोहलपुर नगरपालिका र दक्षिणमा डुडुवा गाउँपालिका तथा भारतसँग जोडिएको छ। विशेषगरी वडा नं. १५ र १६ भारतसँग प्रत्यक्ष सीमावर्ती क्षेत्र हुन्। राष्ट्रिय जनगणना २०७८ अनुसार यस उपमहानगरपालिकाको कुल जनसंख्या १,६४,४४४ रहेको छ, जसमा पुरुष ८२,७५५ र महिला ८१,६८९ रहेका छन् भने कुल घरधुरी संख्या ३४,५६५ रहेको छ।
समग्रमा भौगोलिक अवस्थिति, सीमावर्ती व्यापारिक सम्भावना, ऐतिहासिक विकासक्रम तथा जनसांख्यिक संरचनाका आधारमा नेपालगञ्ज उपमहानगरपालिका लुम्बिनी प्रदेशको एक महत्वपूर्ण सहरी, आर्थिक तथा प्रशासनिक केन्द्रका रूपमा स्थापित रहेको छ।