FAQs Complain Problems

समाचार

आर्थिकवर्षको अन्त्यमा योजना संशोधन गरिएका कारण सम्पन्न नभएको उप–महानगरपालिकाको दावी !!

नेपालगञ्ज, भदौ ७ गते । नेपालगञ्ज उप–महानगरपालिकाले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १ करोड ५० लाख रकम फ्रिज गराएको भन्ने आरोप विभिन्न संचार माध्यमबाट जानकारी हुन आएको भन्दै  गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । निर्णयकर्ताले आर्थिकवर्षको अन्त्यमा योजना संशोधन गरेको पत्र पठाएका कारण प्रक्रिया नै सुरु गर्न नसकिएको उप–महानगरपालिकाले जनाएको छ ।  नगर प्रमुख डा. धवल शम्शेर राणाले आईतबार विज्ञप्ती जारी गरि कुनैपनि प्रकारको भ्रममा नपर्न नगरबासी समक्ष हार्दिक अपिल गर्नुभएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७७ असार ७ गतेको पत्रानुसार विनियोजन भएको रकम मध्ये खर्च नभई बचत रहेको रकम असार १५  गतेभित्र  कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने गरी निर्देशक समितिका सदस्यहरुको परामर्शमा संयोजकलाई जिम्मेवारी दिईएको राणाले जानकारी दिनुभएको छ ।  

राणका अनुसार  पत्र प्राप्त भएको एकसातापछि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निर्देशक समितिको बैठकले असार १४ गते योजनाको संशोधन गरि कोभिड–१९ को लागि आवश्यक पर्ने आईसोलेसनमा उपयोग हुने गरि भेन्टिलेटर र उपकरण भेरी अस्पताल नेपालगञ्जमा जडान गर्ने निर्णय गरेको पत्र जिल्ला समन्यय समितिबाट २०७७ असार १५ गते नेपालगन्ज उपमहानगरपालिकालाई प्राप्त भएको थियो ।  योजना संशोधन गर्दा उप–महानगरपालिकासँग कुनै समन्वय नगरिएको राणाले बताउनुभयो ।

निर्देशक समितिले उप–महानगरपालिकाको कोभिड– १९ राहत कोष मार्फत भेरी अस्पतालमा भेन्टीलेटर खरिद गर्ने निर्णय गरेको अवस्थामा तत्काल उपकरण खरिद गर्न सकिने अवस्था हुँदाहुँदै समन्वय नगरि निर्णय भएपछि रकम फिर्ता भएको हो , राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ,–कार्यक्रम अन्तर्गत नेपालगञ्ज उप–महानगरपालिकामा  अन्य अधिकाँश योजना समयमै सम्पन्न भएका छन् । कार्य सम्पन्न भएका र सम्पूर्ण प्रक्रिया पुरा भएका तर विभिन्न कारणले रकम भुक्तानी हुन नसकेका दुईवटा योजनाको रकम उपमहानगरपालिकाले भुक्तानी गर्ने विषयमा सकारात्मक समेत भएका छौ ।

यसैगरी नेपालगञ्ज उप–महानगरपालिकाको बोर्ड बैठकबाट सर्वसम्मत निर्णय भई नगरका विभिन्न स्थानमा हाइमाष्ट लाईट जडान कार्य भईरहेको अवस्थामा गरिएका अनर्गल टिकाटिप्पणी संघीय ब्यवस्थाको प्रतिकुल र केन्द्रीकृत शासनको मानसिकताको उपज भएको उपमहानगरपालिकाले दावी गरेको छ ।  

भेरी अस्पताललाई सुविधा सम्पन्न बनाउने कार्यमा यस क्षेत्रका निर्वाचित सांसदबाट सहयोग हुनुलाई हृदयदेखि नै स्वागत गर्दछौं भन्दै नगर प्रमुख राणाले उप–महानगरपालिकासँग कुनै सहकार्य नगरी अन्तिम समयमा हचुवाका भरमा आफुखुशी योजना संशोधन गरीएको बताउनुभएको छ । कार्यसम्पन्न गर्नुपर्ने दिनमा निर्णय गरेर पत्र पठाउने तर खर्च हुन नसकेको भन्दै उप–महानगरपालिकालाई दोष दिने कार्य भएका कारण कुनैपनि प्रकारको भ्रममा नपर्न सम्पूर्ण नगरबासी समक्ष हार्दिक अपिल गर्दै राणाले  नेपालगञ्जको विकास निर्माणका लागि यस क्षेत्रका सांसद लगायत सबैसँग नियमित सहकार्य गरि अघि बढ्न उप–महानगरपालिका सदैब तयार रहेको सम्वद्ध सबैमा जानकारी गराउनुभएको छ ।

Show in Slider: