समाचार
थप सावधानी अपनाउन नगर प्रमुखको आग्रह !!
नेपालगञ्ज, बैशाख २१ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले नगरमा कोरोना संक्रमित देखिएपछि थप सावधानी अपनाउन नगरबासीमा आग्रह गर्नुभएको छ । नगर प्रमुख राणाले आईतबार विज्ञप्ती जारी गरि अहिलेको अवस्थामा आम नगरबासीलाई धैर्यधारण गर्दै सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्दै स्थानीय प्रहरी, प्रशासन र स्थानीय तहलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ । जोखिमपूर्ण घडिमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख राणाले आम नगरबासीमा थप सजग, सचेत र सावधानी अपनाउन अनुरोध गर्नुभएको हो ।
नगरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, भेरी अस्पताल र स्थानीय प्रहरी प्रशासन बढि भन्दा बढि परीक्षणमा जुटेको जानकारी दिदै नगर प्रमुख राणाले कन्टयाक्ट ट्रेसिङमार्फत संक्रमितको सम्पर्कमा पुगेका ब्यक्तिहरुको पहिचान भईरहेको सार्वजनिक गर्नुभएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको आईसुलेसनमा संक्रमितको उपचार भईरहेको भन्दै उहाँले कोरोना विरुद्ध संघीय, प्रदेश सरकार र अन्य स्थानीय तहबीच समन्वयमा विभिन्न काम भईरहेको बताउनुभएको छ ।