FAQs Complain Problems

समाचार

नेपालगञ्जको शैक्षिक गुणस्तर सुधारको प्रतिवद्धता !!

नेपालगञ्ज, फागुन १६ गते । नेपालगञ्जमा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १८ बुँदे शिक्षा घोषणापत्र जारि गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक सुदृढिकरणका लागि नेपालगञ्ज उपमहनागरपालिकाको आयोजनामा शुक्रबार सम्पन्न नेपालगञ्ज शैक्षिक सम्मेलनबाट शिक्षा घोषणापत्र जारि गरिएको छ । सम्मेलनमा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी नेपालगञ्ज उपमहानगरपालिका नगर शिक्षा समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । घोषणापत्रमा जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरुको हस्ताक्षर रहेको छ । घोषणापत्र अनुसार उपमहानगरपालिकाले आन्तरिक आयकोे २० प्रतिशत शिक्षामा लगानी गर्ने भएको छ ।  २०७७ चैत मसान्तभित्र शिक्षा नीति तयार गर्ने, असार मसान्तभित्र स्थानीय पाठ्यक्रम तयार गरि कार्यान्वयन गर्ने, अति विपन्न, बालिका, मुस्लिम बालबालिका, अपांगता भएका एवं लक्षित बालबालिकाको विद्यालयमा निरन्तरताका लागि विशेष छात्रवृत्तिको ब्यवस्था गर्ने,  हरेक वर्ष कम्तिमा ३ वटा विद्यालयलाई नमूनाका लागि छनोट गरि कार्यान्वयन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । यसैगरी बालबालिकाको सिकाईमा सुधार गरि गुणस्तर अभिवृद्धि गर्न उपमहानगरपालिकाको गुणस्तरीय सिकाई कार्यढाँचा निर्माण र कार्यान्वयन गर्ने, सामुदायिक विद्यालय र शिक्षकको क्षमता अभिवृद्धिका लागि कार्यक्रम संचालन गर्ने, मदरसामा अध्ययनरत बालबालिकालाई मुलधारको पाठसँग जोड्ने गरि कार्यक्रम संचालन गरिने उल्लेख छ । विद्यालय जाने उमेरका सम्पूर्ण बालबालिकाको विद्यालयसम्म पहुँच सुनिश्चित गर्ने, शिक्षक र विद्यार्थीको नियमित उपस्थिती दर बढाउने लगायत समावेश गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाले जानकारी दिनुभयो ।  

सम्मेलनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सामुदायक विद्यालयको स्तर सुधारका लागि सबैपक्षको साथ र सहयोग चाहिएको बताउनुभयो । उहाँले परीक्षा संचालन कडा हुनुपर्ने भन्दै विगतजस्तो चिट बोरामा भेटिने परिपार्टीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । सामुदायिक विद्यालयको सुधारका लागि मर्जर अभियान प्रभावकारी हुने भएपनि नेपालगञ्जमा असहयोग भएको गुनासो गर्नुभयो ।

उपप्रमुम उमा थापा मगरले सामुदायिक विद्यालयको सुधारका लागि स्थानीय सरकारले प्राथमिकता दिएर काम गरिरहेको भन्दै विद्यालय सुधारका लागि योजनासहित आउन आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षाविद विद्यानाथ कोइरालाले सहजिकरण गर्नुभएको थियो ।

 

Show in Slider: