समाचार
नेपालगञ्जमा हाट बजारको प्रदर्शन !!
नेपालगञ्ज,असोज १२ । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा सञ्चालन भईरहेको नयाँ व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत नव उद्यमशाला कार्यक्रममा सहभागीहरुको प्रत्यक्ष सहभागितामा मंगलबार हाटबजार आयोजना गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको प्रांगनमा भएको कार्यक्रममा तालिममा सहभागी १४ उद्यमी सहित अन्य ६ जना स्थानीय उद्यमीहरुले वस्तु तथा सेवाको प्रदर्शनी गर्नुभयो ।
हाट बजारको उद्धेश्य उद्यमीहरुलाई उत्पादित वस्तु ,सेवा तथा ग्राहकहरुको बारेमा अझ राम्रोसँग अवगत गराउनु र नव उद्यमीहरु लगायत साझेदार निकायहरुसँग जोडिएर न्यूनतम सुरुवाती वस्तु उत्पादन सेवा र योजनाहरुलाई लक्षित दर्शक सामु प्रदर्शन गराउनु रहेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बताउनुभयो । हाट बजार प्रदर्शनीको अवलोकन गर्दै नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगरले हाट बजारमा प्रदर्शति वस्तु तथा सामाग्रीहरुबाट तालिम पूर्णरुपमा फलदायी भएको बताउनुभयो । ६ महिने तालिम पश्चात मागका आधारमा ऋण सहयोग उपलब्ध गराउने योजना रहेको उप–प्रमुख मगरले बताउनुभयो । हाटबजारमा हस्तकलाका सामग्री, अचार, जुत्ता लगायतका विभिन्न सामग्री राखिएको थियो ।