FAQs Complain Problems

समाचार

नेपालगन्जमा पनि अब घुम्ती शौचालय !!

तीन महिनाभित्र नेपालगन्ज शहरमा चार वटा घुम्ती शौचालय सञ्चालन हुनेछन् ।
नेपालगञ्ज उपमहानगरपालिकाकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा सार्वजनिक शौचालयको अभाव कम गर्न घुम्ती शौचालय सन्चालन गर्ने लगायत ६ बुँदे प्रतिबद्धता उपमहानरपालिकाले सार्वजनिक गरेको हो ।
उपमहानगरका सेवा प्रवाह प्रभावकारिता विषयक कार्यक्रममा नगर प्रमुख डा.धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदी, वडा अध्यक्षहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
वडाहरुमा योग तथा व्यायमका कार्यक्रमहरु सञ्चालन गर्ने, सामाजिक सुरक्षा भत्ता बितरणका बिषयमा गुनासो आएकाले भत्ता बितरण गर्ने बैंकहरुका बारेमा आवश्यक छलफल गरि समस्याको समाधान गर्ने, उपमहानगरपालिका भित्र व्यवस्थित पार्किंगको व्यवस्था गर्ने, वडानम्बर ४ र ५ को केही घरहरुमा अव्यवस्थित रुपमा पशुबध हुने गरेको भन्ने गुनासो आएकाले उक्त समस्या समाधानका लागि सम्बन्धित वडाहरुले पहल गर्ने र नियमित सार्वजनिक सुनुवाई गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा सहभागीले सिमा सुरक्षा, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक शौचालय, सडक, ढल निर्माण, छाडा चौपाय व्यवस्थापन, बधशाला निर्माण, सडक अतिक्रमण, खाद्य तथा मासुजन्य पदार्थको गुणस्तरियता लगाएतका दर्जनौं बिषयहरुमा जिज्ञाशा, गुनासो राखेका थिए । जिज्ञासाको जवाफ दिंदै प्रमुख राणाले ९० किलोमिटर सडक बनिरहेको, ढल निकाशका लागि प्रयास भईरहेको, छाडा चौपाय, सडक अतिक्रमण नियन्त्रणका कार्यहरु भईरहेको बताउनु भएको थियो । उपप्रमुख उमा थापा मगरले नेपालगञ्जलाई सभ्य शहर बनाउन लागि सबैको हातेमालाको आवश्यकता औल्याउनु भयो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गर्नु भएको कार्यक्रममा बास उपनिर्देशक हेमराज भट्टले वडा कार्यालयले दिने सेवा, सुबिधाबारे नागरिकहरुबाट लिईएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत संकलनको नतिजा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा २०० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

Show in Slider: