FAQs Complain Problems

नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित !!

नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान र विदाई गर्नुभएको थियो ।

महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न हरेक वर्ष सम्मान गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । २३ वटै वडाका स्वयंसेविकालाई सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आजै उमेर हद पूरा भएका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई विदाई गरेको छ । ६० वर्ष उमेर पुगेकालाई विदाई गरिएको हो । विदाई हुने स्वयंसेविकालाई जनही ५० हजार रुपैयाँ दिने गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामा १५६ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई संचार खर्च वार्षिक जनही १२०० रुपैयाँ, चाडपर्व खर्च वार्षिक जनही रु। २५०० र दिवस मनाउने खर्च दिने गरेको छ । यस्तै संघ सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई लुगा भत्ता वार्षिक जनही रु। १००००, यातायात  खर्च १२००० र वार्षिक समीक्षा खर्च दिने गरेको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले महिला स्वास्थ्य स्वयंसेविका विना स्वास्थ्य क्षेत्रमा अपेक्षित सम्भव नहुने बताउनुभयो । विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको लगावले स्वास्थ्य क्षेत्रले फड्को मारेको बताउनुभयो । उहाँले राज्यले दिने गरेको सेवा सुविधा नगण्य रहेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्का, स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख चन्द, वडा नम्बर १५ पिप्रहवा स्वास्थ्य केन्द्र प्रमुख जयराम पाण्डे, विदाई हुनुभएकी महिला स्वास्थ्य स्वयंसेविका तुलसा थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रम अघि नगरमा प्रभातफेरि गरिएको थियो । महिला स्वास्थ्य स्वयंसेविका संघ नेपालगञ्ज उपमहानगरपालिकाकी कार्यबहाक अध्यक्ष ज्योति श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सुष्मा चौधरीले गर्नुभएको थियो ।

Show in Slider: