समाचार
वडाध्यक्ष लामाको निधनमा शोकसभा !!
नेपालगञ्ज, माघ २३ गते । बिहिवार उपचारकोक्रममा राजधानीको मेडिसिटी अस्पतालमा निधन हुनुभएका नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिष्णुबहादुर लामाको शुक्रबार अन्तिम विदाई गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा कार्यालयमा श्रद्धाञ्जलीसभा सहित स्व. लामाको अन्तिम विदाई गरिएको हो । श्रद्धाञ्जलीसभामा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले लामाको निधनबाट नेपालगञ्जले लोकप्रिय र अनुभवी जनप्रतिनिधी गुमाएको बताउनुभयो । उपप्रमुख उमा थापा मगरले स्व. लामा नेपालगञ्जको विकास र समृद्धिको पक्षमा सदैब क्रियाशिल रहँदै आएको बताउनुभयो । लामाको उपचारमा उप–महानगरपालिका, जनप्रतिनिधी र कर्मचारीका तर्फबाट सक्दो सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । नेकपा बाँकेका सचिव अशोक कोइरालाले स्व. लामाको नेतृत्वमा वडामा निर्माणाधिन विकास निर्माण लगायतका अन्य कामहरु पूर्णता नै लामाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । वडा सदस्य रमेश तिमिल्सेनाले लामाको अभिभावकत्वमा आफुहरु वडाबासीको काममा खटिर्दै आएको भन्दै वडाबासीले असल अभिभावक गुमाएको बताउनुभयो । नगर प्रमुख राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, वडा अध्यक्ष लगायत जन प्रतिनिधी, कर्मचारी लगायतले स्व. लामाको शवमा माल्र्यापण सहित अन्तिम विदाई गर्नुभयो । लामाको निधनप्रति शोक मनाउँदै शुक्रबार नेपालगञ्ज उप–महानगरपालिका तथा वडा कार्यालयमा अत्यावश्यक बाहेकका कामकाज बन्द भएको छ ।