FAQs Complain Problems

वडा नं. १७ खुल्ला दिसामुक्त !

नेपालगन्ज, फागुन २४ गते– नेपालगञ्ज वडा नं. १७ खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । नगरलाई खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत बिहीबार वडा नं. १७ लाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ७ सय ८६ घरधुरी रहेको वडा नं. १७ का सबै जसो घरमा शौचालय बनिसकेका छन् । खुल्ला दिसामुक्त वडा घोषणाका लागि आयोजित एक समारोहमा वडा नं. १७ का वडाध्यक्ष अजय कुमार पाठकले सबै वडाबासीको सहयोगले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिएको भन्दै अभियानमा सघाउने सबैलाई धन्यवाद दिनु भयो । उहाँले वडा नं. १७ खुल्ला दिसामुक्त वडा भएको घोषणा गर्दै वडाबासीका तर्फबाट १३ बुँदे प्रतिबद्धता पनि जनाउनु भयो ।

नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणाले जग्गा र आर्थिक अभावका कारण समस्यामा परेकाहरुलाई भने वडा कार्यालयसँग समन्वय गरी सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । डा राणाले सार्वजनिक शौचालय र सब्जीमण्डी निर्माण गर्ने विषयमा वडाबाट पास गरेर ल्याए तत्कालै काम अघि बढाउने प्रतिबद्धता पनि जनाउनु भयो । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा भए पनि चेतनाको अभावमा कतिपयले फेरि पनि खुल्लारुपमा दिसा गर्न सक्नेतर्फ सचेत गराउँदै निगरानी र सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नु भएको थियो ।