FAQs Complain Problems

समाचार

सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन अभिमुखीकरण !!

सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले अभिमुखीकरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा आज सिकाई आदानप्रदान कार्यक्रम गरिएको हो ।

सहकारी सम्बद्ध सरोकारवाला निकाय र नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका सहकारी संस्थाबीच चौमासिक सिकाई आदानप्रदान कार्यक्रम अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रमुख प्रविन रानाले बताउनुभयो । सहकारीलाई सुदृढ, व्यवस्थित र चुस्तदुरुस्त राख्न अभिप्रेरित गर्दै जनस्तरमा गुम्दै गएको सहकारीप्रतिको विश्वासलाई पुनः जागृत गराउन अभिमुखीकरण गरिएको रानाले जानकारी दिनुभयो । जिल्ला सहकारी संघ बाँकेको सहजीकरण भएको अन्तरक्रिया कार्यक्रममा शाखा प्रमुख राना र संघका प्रबन्ध सञ्चालक नवराज उपाध्यायले सहजीकरण गर्नुभएको थियो ।नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो कार्य क्षेत्रभित्र रहेका ११२ वटै सहकारी संस्थाको निरीक्षण गर्ने, आवश्यक देखिएमा अनुगमन गर्ने र समस्याग्रस्त देखिएमा सघन अनुगमन गर्ने नीति लिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक गोपाल पुनले नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार र सशक्तिकरणका लागि केही गर्न खोजेको भन्दै सबैको प्रतिबद्धता जरुरी रहेको बताउनुभयो । अन्तरक्रियाले गाइडलाइन प्रदान गर्ने बताउँदै पुनले सहकारी अभियानलाई भरोसायोग्य बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अब उत्कृष्ट सहकारीलाई सम्मान गर्ने परिपाटीको विकास गरिने जानकारी समेत दिनुभयो ।

जिल्ला सहकारी संघका प्रवन्ध संचालक उपाध्यायले समस्याग्रस्त सहकारीलाई ट्रयाकमा ल्याउन आवश्यक रहेको बताउनुभयो । नेफस्कून प्रमुख छत्र धमलाले समस्याग्रस्त सहकारीलाई उकास्न समन्वयकारी भूमिका जरुरी रहेको उल्लेख गर्दै सुशासन कमजोर भएर थुप्रै चुनौतीको सामना गर्नुपरेको बताउनुभयो ।

राष्ट्रिय सहकारी बैंक नेपालगञ्जका प्रमुख प्रकाश थपलियाले सहकारी स्वयंले कमजोरी गर्दा विश्वास गुमाउँदै गएको बताउँदै आफैंले आफ्नो स्वनियमन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्रप्रसाद अधिकारीले सहकारीलाई मुख्य पेशा नबनाउँदा चुस्त दुरुस्त र व्यवस्थित बन्न नसकेको बताउनुभयो ।

 

Show in Slider: