FAQs Complain Problems

समाचार

स्थानीय सरकार र प्रशासनबीच सहकार्यमा जोड !!

नेपालगञ्ज, भदौं २२ गते । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने गराउने सन्दर्भमा स्थानीय प्रशासनसँग सधै सहकार्य र समन्वय गरिरहेको बताउनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीको स्वागतमा उपमहानगरपालिकाले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख राणाले स्थानीय प्रशासनसँग आगामी दिनमा पनि सहकार्यका लागि उपमहानगरपालिका सधै तयार रहेको बताउनुभयो । नेपालगञ्जको संवेदनशिलतालाई सधै ख्याल गर्न सुझाव दिदै प्रमुख राणाले उपमहानगरपालिका स्थानीय प्रशासँथ सहकार्य र समन्वयका लागि सधै तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्काले शान्ति सुरक्षाको सवालमा कुनैपनि कम्प्रोमाईज नहुने बताउनुभयो । उपमहानगरपालिकाले गरेको स्वागतले काम गर्ने हौसला बढेको भन्दै उहाँले यसले जिम्मेवारी पनि बढाएको दावी गर्नुभयो । म आफु पनि भ्रष्टाचार गर्दिन, मेरो क्षमताले भ्याए सम्म गर्न पनि दिन्न, प्रजिअ खड्काले भन्नुभयो,– मलाई यसमा निरन्तर खबरदारी गर्नुस । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वलीले प्रहरीको एकल प्रयासले मात्रै शान्ति सुरक्षा हुन नसक्ने भन्दै सहकार्य जरुरी भएको बताउनुभयो । उहाँले तस्कर घुसघोर र गुण्डागर्दीसँग आफुले कुनै सम्झौता नगर्ने भन्दै स्थानीय सरकारको साथको अपेक्षा गर्नुभयो । कार्यक्रममा नेपालगञ्जका उपप्रमुख उमा थापा मगरले स्थानीय सरकार र प्रशासनबीच सहकार्य र समनवय आवश्यक रहेको बताउँदै सहकार्यले शान्ति सुरक्षा र सुशासनमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेपालगञ्जका प्रमुख राणा, उपप्रमुख मगर, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायत कर्मचारीले प्रमुख जिल्ला अधिकारी खड्का र एसपी वलीलाई स्वागत गर्नुभयो ।

Show in Slider: