FAQs Complain Problems

स्वास्थ्यकर्मीलाई विदामा नबस्न नेपालगञ्ज उपमहानगरपालिकाको निर्देशन !!

बाँके,चैत १ ।  कोरोना भाईरसको संक्रमण भित्रिन नदिन उच्च सावधानी अपनाएको नेपालगञ्ज उप–महानगरपालिकाले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ । कोरोना भाईरस विरुद्ध अपनाइएको सतर्कता र भावी कार्ययोजनाका विषयमा शनिबार आयोजित स्वास्थ्यकर्मीसँगको अन्तरक्रियामा  स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्यकर्मीलाई बिदामा  नबस्न निर्देशन दिनुभयो । स्वास्थ्यकर्मीलाई क्रिया विदा र सुत्केरी विदा बाहेक  अन्य बिदा नदिइने चन्दले बताउनुभयो ।

कोरोना भाईरसविरुद्ध उच्च सतर्कता अपनाएको उप–महानगरपालिकाले  वडा स्तरसम्म रेपिड रेस्पोन्स टिम र विपद ब्यवस्थापन समिति समिति गठन गर्ने भएको छ । तीन दिनभित्र समिति गठन भईसक्ने चन्दले बताउनुभयो । छलफलको निर्णय अनुसार स्वास्थ्य संस्थाले औषधीको हालसम्मको विवरण उपमहानगरपालिकामा तत्काल पठाउने र हेल्थडेस्कमा भएको चेकजाँचको विवरण पनि सोही साझ बुझाइने भएको छ ।

कोरोना भाईरस विश्वब्यापी समस्याको रुपमा देखिएको भन्दै उपमहानगरपालिकाले गाउँगाउँ र टोलटोलमा सचेतना अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना विरुद्ध स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न छलफल कार्यक्रम गरिएको चन्दले बताउनुभयो । छलफलमा स्वास्थ्यकर्मीहरुले आफुहरुका लागि आवश्यक श्रोत साधन र उपकरण उपलब्ध हुनुपर्ने माग गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाका, नेपालगञ्ज विमानस्थल र कार्यालयमा हेल्थडेस्क सञ्चालन गरिरहेको छ ।

Show in Slider: