FAQs Complain Problems

नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम संचालन कार्यविधि २०८०’ को मस्यौदा तयार !!

नेपालगञ्ज उपमहानगरपालिकाले ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम संचालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम संचालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो । यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्विकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो । उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समिति संयोजक कौशलकुमार धोवीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले उक्त मस्यौदा हस्तान्तरण गर्नुभएको हो ।

साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको संयोजकत्वमा लक्ष्मण बर्मा र विना थापा सदस्य तथा जोशी सदस्य सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदललाई १५ दिनको समय दिइएको थियो । कार्यदलले बुझाएको ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम संचालन कार्यविधि २०८०’ को मस्यौदा सामाजिक विकास समिति संयोजक कौशलकुमार धोबीले नगर प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गर्नुभएको छ । अब नगर प्रमुख विष्टले तोक लगाएपछि उक्त मस्यौदा नगर कार्यपालिकामा प्रस्तुत हुनेछ । नगर कार्यपालिकाबाट पारित भएपछि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइनेछ ।

‘गरिबसंग स्थानीय सरकार कार्यक्रम’ मार्फत नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बसोबास गरिरहेका लक्षित समुदायहरुमध्ये आर्थिक क्रियाकलापका दृष्टिले निष्क्रिय जनशक्तिहरुलाई व्यवसायिक गतिविधिहरुमा सरिक गराउन नवीनतम प्रविधि, ज्ञान र सीपका आधारमा व्यवसायिक लगानी योजना तयार गरेर उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने गरी प्रस्तावित योजनाका लागि कर्जा उपलब्ध गराइनेछ । सहरी सुशासन, जनसहभागिता प्रबद्र्धन र आर्थिक सशक्तिकरण गरी सबै नगरबासीहरुले देखेको आफ्नो समृद्धिको परिकल्पना साकार पार्न सक्ने गरी ‘गरिबसंग स्थानीय सरकार कार्यक्रम’ संचालन गर्न बाञ्छनीय देखिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

Show in Slider: