FAQs Complain Problems

समाचार

नेपालगञ्ज उपमहानगरपालिका खुला दिसामुक्त घोषणा !!

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकालाइ खुला दिसामुक्त घोषणा गरिएको छ । उपमहानगरपालिका परिसरमा आज आयोजित एक समारोहमा जनप्रतिनिधि, सरोकारवाला र नगरबासीबीच नगर प्रमुख डा. धवल शम्शेर राणाले तेह्र बुँदे प्रतिवद्धतासहित नेपालगञ्जलाई खुल्ला दिसामुक्त घोषणा गर्नु भएको हो । उप–महानगरपालिकाका सबै २३ हजार तिनसय २८ घरधुरीमा शौचालय निर्माण भएपछि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । उहाँले अनेकौ चुनौतीका बावजुत नगरलाई खुला दिशामुक्त गरिएकोमा धन्यवाद ज्ञापन गर्दै पूर्ण सरसफाइमा केन्द्रित हुनु आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले फोहर व्यवस्थापनमा नगरवासीले सहयोग गर्नुपर्ने बताउनु भयो । उपप्रमुख उमा थापा मगरले नगरलाई फोहरमुक्त गर्न सामुहिक हातेमालोमा जोड दिनु भएको थियो । सो अवसरमा नगर स्तरीय बाल क्लब सञ्जालकी अध्यक्ष अञ्जना चर्तुवेदी र एसएनभीका सल्लाहकार मुनबहादुर खड्काले नगर खुल्ला दिसामुक्त भएकोमा खुसी ब्यक्त गरेका थिए । सो अवसरमा खुल्ला दिशामुक्त अभियानमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, सामाजिक परिचालक, संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारी, नगर प्रमुख राणा, उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदी, प्रहरी प्रमुख टेकबहादुर तामाङले सम्मानपत्र वितरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन खुला दिशा मुक्त अभियानका फोकल पर्शन ओविराज आचार्यले गर्नुभएको थियो ।

उपमहानगरपालिकाका यस्ता छन् प्रतिबद्धताहरु:

१. आजैका मिति देखि लागु हुने गरि यस नगरक्षेत्रमा बसोबास गर्ने हामी सबै नगरबासीहरुले खुल्ला स्थानमा दिशापिशाब गर्ने छैनौ ।

२. आजैका मिति देखि हामी सबै नगरबासीहरुले आफ्नो सेप्टीट्याङ्कीको पाईप नालामा खुल्ला रुपमा जोडने छैनौ ।

३. खाना खानु अघि पछि, फोहोर वस्तु छोए पछि र दिसा गरेपछि साबुन पानीले हात धुने छौ र हाम्रा बालबालिकालाई यस कार्यमा प्रोत्साहन गर्नेछौं ।

४. पारीवारिक तथा ब्यक्तिगत सरसफाईको महत्वबारे जनचेतना तथा स्वास्थ्य ब्यवहारमा परिवर्तनका अभियान संचालन गर्ने र सहभागी हुनेछौ ।

५. घरमा उत्सर्जन फोहोर व्यवस्थापन, शौचालय तथा पानीको श्रोत वरिपरी नियमित सरसफाई गर्नेछौ ।

६. स्वास्थ्य तथा सरसफाई अभियान निरन्तर संचालन गर्न समुदाय स्थित संस्था, क्लब, बिद्यालय, समुह, बालक्लब, किशोरी क्लब, युवा क्लव लगाएतका बिभिन्न संघ संस्थाहरुविच संजाल निर्माण गरि जन परिचालन गर्नेछौं गराउने छौं ।

७. पारिवारीक तथा ब्यक्तिगत सरसफाई नियमित प्रवद्र्धनका निमित्त नगर स्तरिय निगरानी समिति मार्फत नियमित अनुगमन गर्नुका साथै सुधारका लागि सामुहिक योजना बनाई लागू गर्नेछौं ।

८. सडकमा तथा खुल्ला रुपमा पशु चौपायाहरु छोडने छैनौ, पशु चौपाया सडकमा बाध्ने छैनौ, सडक अतिक्रमण गरि कुनै पनि सामाग्रीहरु राख्ने छैनौ र जहाँतहीं फोहोर फाल्ने छैनौ ।

९. प्रत्येक वडा तथा गाउँ वस्ती टोलमा निगरानी समुह गठन गरिने छ । खुल्ला स्थानमा दिसा गरेको पाईएमा त्यस्तो कार्य सामाजिक कसुर ठहर गरि वडा स्तरिय अनुगमन समिति र नगर स्तरिय अनुगमन समिति, प्रचलित कानुन बमोजिम, वडा कार्यालयको सिफारिस तथा नियमानुसार तोकिएको दण्ड जरिवाना समेत गरिनेछ ।

१० खुल्ला दिसामुक्त अभियान नगरस्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, वडा स्तरिय अनुगमन समिति, स्थानीय बिभिन्न समुह, बालक्लब, किशोरी क्लव, स्वास्थ्य स्वयंसेवीकाहरु, आमा समुह सहित समिति संजाललाई निरन्तर रुपमा संचालन गर्ने छौ ।

११. सरसफाई अभियानलाई दिगो कायम गर्न शौचालय स्तर उन्नतीका लागी योजना सहित कृयाकलाप संचालन गरिने छ ।

१२. नगरस्तरिय निगरानी अनुगमन समुह परिचालन गरि नियमीत रुपमा पारिवारिक स्वास्थ्य व्यवहार र शौचालयहरुको समेत अनुगमन गर्नेछौ ।

१३. आजको मिति देखि बाहिर खुल्ला स्थानमा दिसा गरेको, नालामा दिसा गरेको वा सेप्टीट्याङ्कीको पाईप नालामा जोडेको पाइएमा पहिलो पटकमा रु.५००, दोस्रो पटकमा रु.१०००। जरिवाना असुल गरि नाम सार्वजनिक गर्ने र अटेर गरि पटक पटक यस्तो गरेको अवस्थामा रु.५०००। र जरिवाना गरि सामाजिक बहिस्कार गरि कानुनी कारवाहिका लागि पहल गरिने छ ।

Show in Slider: