समाचार
नेपालगञ्जका १५ वटा वडामा पूर्णखोप सुनिश्चितता !!
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका १५ वटा वडालाई आज पूर्णखोप सुनिश्चितता गरिएको छ । नगरका १५ वटा वडामा बालबालिकाका लागि आवश्यक सम्पूर्ण खोप लगाएको पाइएपछि उपमहानगरपालिकाले आज एक समारोह गरि पूर्णखोप सुनिश्चितता घोषणा गरेको हो । नगरका वडा न २, ३, ४, ८, १०, १२, १३, १४, १५, १६, १७, १८,२०,२१ र २३ वडालाई पूर्णखोप घोषणा गरिएको हो । बीसीजी, डिपीटी, मिजल्स, पोलीयो लगायतका ११ वटा खोप पुरा गर्नुपर्ने हुन्छ । जिल्ला समन्व्य समितिका संयोजक अजय कुमार श्रीवास्तवले आज १५ वटा वडा पूर्ण खोपयुक्त भएको घोषणा गर्नु भएको हो । पूर्ण खोपका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीकाको भूमिकाको प्रशंसा गर्दै थप वडालाई पनि चाँडै नै पूर्ण खोपयुक्त बनाउन सुझाव दिनु भयो ।
नगर प्रमुख डा धवल श्म्शेर राणाले खोप प्रयोगले मानव विकासमा मद्यत पुग्ने विश्वास गर्दै अव पूर्ण सरसफाईमा पनि केन्द्रीत हुन आहवान गर्नु भयो । उपप्रमुख उमा थापामगरले स्वास्थ्य सचेतनाले असल नागरिक बन्न मद्यत पुग्ने भएकाले सबै पक्ष उत्तिकै जिम्मेवार बन्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । जनस्वाथ्य कार्यालयका प्रमुख खीम बहादुर खडका, नगर स्वास्थ्य संयोजक केशव गौतम, वडा अध्यक्षका तर्फबाट वडा न १२ का अध्यक्ष बुद्धीसागर सुवेदी लगायतले पूर्णखोपको दिगोपना बारे बोल्नु भएको थियो । सोही समारोहमा वडा अधयक्ष, वडा सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका लगायत दर्जनौंलाई खादा र सम्मान पत्रले सम्मान गरिएको थियो ।