FAQs Complain Problems

समाचार

चौथो नगर सभाद्धारा ३ वटा समिती गठन, दुई वटा विधेयक पारित !!

नेपालगञ्ज चैत्र, १० गते– नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगर सभाले ३ वटा समिती गठन गर्नुका साथै दुई वटा विधेयक पारित गरेको छ । आज सम्पन्न सभाले सुशासन समिती, विधायन समिती र लेखा समिति गठन गरेको छ । साथै सभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७५, फोहरमैला व्यवस्थापन विधेयक २०७५ र नगर सभाको समिति गठन सम्वन्धी नियमावली २०७५ पारित गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७५÷७६ को बार्षिक बजेट योजना तथा कार्यक्रमहरु रकमान्तर तथा संशोधन र आ.व.२०७४÷७५ को मौज्दात बजेट मध्ये सम्वन्धित वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा विनियोजन भएको कार्यक्रम तथा बजेटहरु सभाबाट स्वीकृत गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई प्लाष्टिक मुक्त उपमहानगरपालिका घोषणा गर्नका लागि आवश्यक कार्यविधी बनाउने निर्णय पनि गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले ७ वटा नगर बस सञ्चालन गर्ने, गरीब, असहाय, बिपन्न महिलाहरुलाई प्राथमिक दिदै प्रत्यक्ष रोजगारी दिने, हाइमाक्स बत्ती जडान गर्ने लगायत निर्णयहरू पनि गरेको छ ।
नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्य, उपमहानगरपालिका कर्मचारीहरुको सहभागिता रहेको सभाद्धारा गठीत लेखा समितीको संयोजकमा दिग्वीजय ढुंगाना, सुशासन समितिको संयोजकमा नर बहादुर विष्ट, विधायन समितीको संयोजकमा मेनका वैद्य रहनु भएको छ । प्रत्येक समितिमा सात÷सात सदस्य रहेका छन् । समितीका पदाधिकारी एवं सदस्यलाई नगर प्रमुख राणाले शपथ ग्रहण गराउनु भयो ।
सौहार्दपूर्ण रुपमा सञ्चालीत सभामा नगर प्रमुख डा धवल शम्शेर राणाले नगरको विकास तीव्र गतीमा भएको भन्दै सबैको सहकार्यको अपेक्षा गर्नु भयो । सभाको दोस्रो चरणमा बाँकेका प्रमुख जिल्ला अधिकारीले कानून प्रदत अधिकार प्रयोग गरेर जनताको सेवा सहज प्रवाह गर्न आग्रह गर्दै शान्ती÷सुरक्षामा प्रतिवद्ध रहेको विश्वास दिलाउनु भयो ।
सभामा नगर उपप्रमुख उमा थापा मगर, प्रहरी उपरिक्षक अरुण पौडेल, सशशस्त्र प्रहरी उपरिषक भेष बहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

Show in Slider: