समाचार
योजना कार्यान्वयनमा नेपालगञ्जको कडाई !!
नेपालगञ्ज,मंसिर २७ । नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको कार्यान्वयनका लागि सक्रियता बढाएको छ । यहि चैत महिनाभित्र सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयनका लागि सक्रियता बढाइएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । नेपालगञ्जमा चालु आर्थिकवर्षमा वडा स्तरीय योजना, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम, प्रदेश र संघीय योजनाहरु कार्यान्वयनमा रहेका छन् । समयभित्रै सम्पूर्ण योजनाहरु गुणस्तरीय ढंगले निर्माण सम्पन्न गर्नका लागि उपमहानगरपालिकाले बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलको नेतृत्वमा अनूगमन समिति वडा वडामा खटाएको छ ।
अनूगमन समितिले वडा नम्बर १,४,५,६,१८,१९,२०,२१ र २२ नम्बर वडा कार्यालयमा पुगेर योजनाको कार्यान्वयन चरणको बारेमा जानकारी लिईसकेको छ । अनूगमन टोली केही दिनभित्रै सम्पूर्ण वडामा पुगेर निर्माण अवस्थाबारे जानकारी लिने भएको छ । अनूगमनका क्रममा योजनाको हालको अवस्था, योजना संचालनमा आईपरेका समस्याको सहिजकरण पनि टोलीले गर्दै आएको छ । उप–महानगरपालिकाले योजनाको शिघ्र कार्यान्वयनका लागि ओभरसियरलाई वडा कार्यालयमा खटाएको छ । ओभरसियर र प्राविधिकहरु योजनाको स्टिमेटमा सक्रिय भएर लागेका छन् । योजनाको स्टिमेट तयार भएका ठाउँमा उपभोक्ता समिति समेत गठन भईरहेको छ ।
नेपालगञ्ज उप–महानगरपालिका योजना शाखा प्रमुख ईञ्जिनियर भुपेन्द्र बोहराले नेपालगञ्जमा हाल संघीय बाहेक करिब २५ करोडका चारसय बढि योजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । योजनाको कार्यान्वयनका लागि उप–महानगरपालिकाले वडा कार्यालयलाई अझ बढि जिम्मेवार बनाउँदै लगेको जनाएको छ । चैतभित्र योजना कार्यान्वयनका लागि उप–महानगरपालिकाले निरन्तर अनूगमन गर्दै समस्या भएका स्थानमा तत्काल समाधानका लागि पहल गर्ने जनाएको छ ।